२ मंसिर, काठमाडौं
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणमा ढिलाई गरे कोरोना संक्रमणले थप मानिसहरुको ज्यान जानसक्ने बताएका छन्। डेलावेयरमा बोल्दै बाइडेनले कोरोनाभाइरसको प्रकोप रोक्नका लागि समन्वयको आवश्यकता रहेकोमा जोड दिए। ‘यदि हामीले सहकार्य गरेनौँ भने कोरोनाका कारण अझ धेरै मानिसहरू मर्नेछन्।’ बाइडेनले भने, ‘योजना बनाउन सुरु गर्नकै लागि हामीले जनवरी २० सम्म पर्खनु प¥यो भने यसले हामीलाई पछि पार्छ।’
राष्ट्रपतीय निर्वाचनपछि सङ्क्रमणकालीन कार्यहरू गर्ने सरकारी निकाय जेनेरल सर्भिसेज एड्मिनिस्ट्रेसन (जीएसए) ले अझै बाइडेन र उपराष्ट्रपतमा निर्वाचित कमला ह्यारिसलाई विजेताका रूपमा मान्यता दिइसकेको छैन्।उनीहरुलाई आसन्न प्रशासनलाई दिइने संवेदनशील सरकारी ब्रिफिङको पहुँच दिइएको छैन। ट्रम्पको चुनावी अभियानले विभिन्न राज्यहरूमा मतगणनामाथि प्रश्न उठाउँदै कानुनी चुनौती दिएको छ। बाइडेनले राष्ट्रपति ट्रम्पलाई हार स्वीकार्न पुनः आह्वान गरेका छन्। ३ नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा बाइडेनले ३ सय ६ इलेक्टोरल कलेज भोट प्राप्त गरेका छन्। राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० मत पर्याप्त हुन्छ। राष्ट्रपति ट्रम्पले भने हिजो ट्वीट गर्दै फेरि आफूले चुनाव जितेको दाबी गरेका छन्।