२ मंसिर, काठमाडौं ।
नेपालका हिमाली र उच्च पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात भएको छ । हिमपातसँगै चिसो पनि बढेको छ । चिसोले जनजीवन प्रभावित भएको छ ।हुम्ला, डोल्पा, मुस्ताङ र उत्तरी गोरखामा हिउँ परेको छ । लुम्बिनी प्रदेशमा पर्ने पूर्वी रुकुमको दुले भन्ने स्थानमा पनि हिमपात भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुने जनाएको छ । हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा वर्षा तथा हिमपात भइरहेको छ ।