४ मंसिर, काठमाडौं ।
लकडाउन शुरु भएयता कात्तिकमा सर्वाधिक संख्यामा पर्यटक भित्रिएका छन् । अध्यागमन विभागका अनुसार कात्तिक महिनामा मात्र २ हजार ९ जना विदेशी नागरिक नेपाल आए । नेपालमा हवाई मार्गबाट भित्रिएका जुनसुकै प्रयोजनमा भित्रिएका विदेशी नागरिक समेत पर्यटक गनिन्छन् । एक महिनामा १३७० जना पुरुष र ६३९ जना महिला पर्यटक नेपाल आएका छन् । सरकारले १७ अक्टोवरबाट पर्यटकलाई घुमफिरमा आउन खुला गरेको थियो ।
त्यसअगाडी नै पर्वतारोहण र पदयात्रामा आउने पर्यटकलाई संस्थागत रुपमा सिफारिस लिई नेपाल आउने ढोका खुलेको थियो । यसले क्रमशः पर्यटक आगमन बढ्दै गएको छ ।एक महिनामा अमेरिकाबाट मात्र ४५५ र बेलायतबाट ३२६ जना नेपाल आएका छन् । चीनबाट १ सय ६१, भारतबाट १ सय २५, टर्कीबाट ८२ र रुसबाट ८१ जना पर्यटक नेपाल आएको तथ्यांक छ ।एक महिनाको अवधिमा नेपालबाट विदेश फर्कने विदेशी नागरिकको संख्या भने १८७२ जना रहेको छ । विभागको तथ्यांक अनुसार कात्तिकमा नेपाली नागरिकको आगमन भने १८ हजार १ सय ४३ जना रहेको छ । यो महिनामा नेपाल आउने भन्दा विदेश जाने नेपाली धेरै देखिएको छन् । कात्तिकमा २२ हजार २ सय १२ जना नेपाली नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेशिएका छन् ।
सरकारले विदेशी पर्यटक माथि लगाएको प्रतिवन्ध खुकुलो बनाएसँगै नेपालमा विदेशी पर्यटक तथा नागरिकको आवागमन बढ्न थालेको हो ।