४ मंसिर
काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीको सचिवालय समस्या सिर्जना गर्ने थलोका रूपमा विकास हुँदै गएको बताउनुभएको छ ।
पार्टीको ‘कोर अफ दि लिडरशिप’ का रूपमा मान्यता पाएको सचिवालय आन्तरिक समस्या समाधान गर्ने भन्दा समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको पौडेलको भनाइ छ । पार्टीको आन्तरिक पाटोमा देखिएको समस्या र राष्ट्रिय राजनीतिलाई सही दिशामा लैजानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा नेकपा सचिवालयले त्यस्तो गर्न नसकेको पनि उहाँले बताउनुभयो ।
आज पत्रकारसंगको कुराकानीमा महासचिव पौडेलले सचिवालयले आफ्नो समीक्षा गर्दै भूमिका परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय समस्या समाधानको थलो नभएर समस्या सिर्जना गर्ने भूमिकामा सचिवालय परिवर्तन भएको छ । त्यसैले सचिवालयले आफ्नो भूमिका बदल्नुपर्ने आवश्यकता मैले देख्छु । यदि पार्टीको आन्तरिक जीवनमा उत्पन्न भएका समस्या समाधानका लागि, राष्ट्रिय राजनीतिलाई सही दिशामा दिशाबोध गराउनका लागि सक्षम, प्रभावकारी, नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको अवस्थामा स्वाभाविक रूपमा सचिवालयको वैधता र औचित्यमाथि प्रश्न खडा हुन्छ ।’
हिजोको सचिवालय बैठकमा समेत जिम्मेवारी ठिक ढङ्गले निर्वाह गर्न नसक्ने अवस्थामा स्थायी कमिटीलाई बाटो छोड्नुपर्ने धारणा आफूले राखेको उहाँले बताउनुभयो । पार्टी आन्तरिक जीवनमा गम्भीर, जटिल र सङ्कटग्रस्त भएको उल्लेख गर्दै उहाँले नागरिक र नेता कार्यकर्ताहरूले नचाहेका अपेक्षित घटनाहरु घटिरहेको बताउनुभयो । ‘सीमा बाहिर, मर्यादा बाहिरका, तथ्य बाहिरका अभिव्यक्ति र क्रियाकलाप रोकिऊन् । पार्टी तथ्यको जडमा उभिएर सही निष्कर्षका साथ अगाडि बढोस् । त्यसका लागि अगाडि बढौँ भन्ने मेरो चाहना हो, त्यहीअनुसार जिम्मेवारी पूरा गर्न चाहन्छु ।’