५ मंसिर, काठमाडौं ः
कोरोनाका कारण विश्वमा १३ लाखभन्दा बढी संक्रमितले ज्यान गुमाइसकेका छन्। अहिलेसम्म यसको निराकरण गर्न कुनै पनि आधिकारिक औषधि वा खोप बन्न सकेको छैन। विभिन्न मुलुकले निर्माण गरिरहेका खोपको प्रभावकारिताका कुराहरू सार्वजनिक भइरहेको छन्। खोपको प्रभावकारिता बढेसँगै धेरै संक्रमितले यसबाट लाभ प्राप्त गर्न सक्ने आशा गरिएको छ।
चीन, अमेरिका, बेलायत र रुसले विकास गरिरहेका १० वटा खोप तेस्रो चरणको ’क्लिनिकल ट्रायल’ मा छन्। अहिले बनिरहेका खोप परीक्षणमा सफल भएमा केही समयपश्चात् विश्वका विभिन्न मुलुकमा पुगिसक्नेछन्। तर, नेपालमा भने अहिले बनेका खोपले अनुमति पाए पनि तत्काल आइपुग्ने अवस्था छैन।
यता, सरकारले कोरोना भाइरस विरुद्धको भ्याक्सिन नेपालमा पनि परीक्षण गर्ने कानुनी बाटो खोलिसकेको छ। आपतकालीन औषधि र खोप प्रयोगलाई सहज बनाउन सरकारले सिफारिस गरेको औषधि (तेस्रो संशोधन) अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जारी गरेसँगै अन्य मुलुकमा अनुमति पाएको खोपको क्लिनिकल ट्रायल गर्न कानुनी आधार बनिसकेको छ।
अध्यादेशमा खोपको क्लिनिकल ट्रायल गर्न सकिने व्यवस्था उल्लेख गरिएको छ । त्यस्तै, नियामक निकायले अनुमति दिएको खोपलाई नेपालमा पनि प्रयोग गर्न सकिने प्रावधान राखिएको छ ।औषधि ऐन २०३५ मा नयाँ औषधिको क्लिनिकल ट्रायल गर्न औषधि व्यवस्था विभागबाट अनुमति लिनुपर्ने व्यवस्था थियो। ‘कुनै पनि विदेशी मुलुकको सरकार वा सम्बन्धित नियामक निकायको अनुमतिबमोजिम क्लिनिकल ट्रायलमा रहेको खोप विकास गर्ने संस्था वा कम्पनीले त्यस्तो खोपको नेपालमा क्लिनिक ट्रायल गर्न चाहेमा नेपाल सरकारले अनुमति दिन सक्नेछ,’ अध्यादेशमा उल्लेख छ ।
अन्य मुलुकमा औषधि बन्न थालेपछि नेपाल सरकारले खोप आयात गर्नको लागि एक कमिटी पनि बनाइसकेको छ। समयमै खोप आपूर्ति गर्न अर्थ, स्वास्थ्य र परराष्ट्र सचिवसहितको एक कमिटी बनेको हो।
विकसित भइरहेका कुनै पनि खोप बजारमा आउनासाथ नेपालमा ल्याएर तुरुन्त प्रयोग गर्न सहज छैन। आवश्यक पर्ने कतिपय पूर्वाधार नेपालमा बनेका छैनन्। प्रयोगमा आउने कुनै पनि खोपलाई माइनस तापक्रममा राख्दा भण्डारण गर्ने उपकरण ’कोल्ड चेन’ निर्माण भएका छैनन्।
औषधि निर्माता कम्पनी फाइजर तथा बायोएनटेक बनाएको खोप ९० प्रतिशतसम्म मानिसमा संक्रमण रोक्न प्रभावकारी भएको दाबी गरिएको छ। तर, उक्त खोपलाई कम्तीमा माइनस ७० डिग्रीमा राख्नुपर्ने भनिएको छ। नेपालमा उक्त तापक्रममा राख्नको लागि उपयुक्त भण्डारस्थल बनाइएको छैन।
नेपालमा खोप आएमा भण्डार गर्नको लागि समस्या हुने देखिएको छ। संक्रमण देखिएको नौ महिनासम्म खोप भण्डारण गर्ने क्षेत्र बनाइएको छैन। विदेशमा निर्मित खोप आयात भएमा कसरी व्यवस्थापन गर्ने त्यसको विकल्प तयार गरिएको छैन।