११ मंसिर, काठमाडौं ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उपसभामुख चयनका लागि प्रमुख प्रतिपक्षी दलहरुले पहल गर्नुुपर्ने बताएका छन् । सभामुख सत्तारुढ दलको तर्फबाट भएका कारण सत्तारुढ दलले उपसभामुख लिन नपाउने संवैधानिक प्रावधान रहेको उल्लेख गर्दै उनले प्रतिपक्षी दलले नै उपसभामुखको विषयलाई अगाडि बढाउनुपर्ने धारणा राखे ।बिहीबार संघीय संसद संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले उपसभामुख चयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गरेकी थिइन् ।
जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘सभामुख सत्तारुढ दलको भएका कारण राख्न मिल्दैन । सभामुख एउटा लिंगबाट भएका कारण अर्को लिंगबाट उपसभामुख आवश्यक हुन्छ । यसमा प्रतिपक्षीबाटै आउनुपर्यो । यसमा सरकारलाई मात्रै भन्नु उपयुक्त हुँदैन ।’ तत्कालिन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि १२ माघ २०७६ देखि उपसभामुख पद खाली छ ।संसदमा सबैभन्दा ठूलो दल भएका कारण नेकपाले जसलाई समर्थन गर्छ उसैले उपसभामुख पद पाउने अवस्था छ । तर, नेकपाले कसलाई समर्थन गर्ने भनेर टुङ्गो लगाउन सकेको छैन ।
सभामुख र उपसभामुख फरक राजनीतिक दल र लिंगबाट हुनुपर्छ । फरक राजनीतिक दललाई उपसभामुख दिनुपर्ने भएपछि नेकपाले उपसभामुख निर्वाचन गराउन नचाहेको आरोप लाग्दै आएको छ ।