१३ मंसिर २०७७ कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ ओदारीमा बाणगंगा डेन्टल प्रालीले आफ्नो सेवा सुरुवात गरेको छ । काठमाण्डौँ युनिभर्सिटीबाट ब्याचलर अफ डेन्टल हेल्थ (बिडिएस) गरि सक्नु भएका डाक्टरद्धय आशुतोष शुक्ल र कृष्णदेव महतोले खोल्नु भएको डेण्टल प्रालीको नगरपालिकाका मेयर मंगल प्रसाद थारु र वडा नम्बर ११ का वडाध्यक्ष सोमनाथ अर्यालले आज विहान रिवन काटेर उद्घाटन गर्नु भएको हो । उद्घाटनपछि प्रमुख अतिथि थारुले दाँत समेत जाँच गराउनु भएको थियो । त्यसपछि अस्पतालले आफ्नो सेवा सुरु गरेको छ । दाँत सम्बन्धि विशेषज्ञसहितको सेवा दिने अस्पताल नभएर यस क्षेत्रकाबासीले दुख पाएको महसुस गरी अस्पताल खोलिएको डाक्टर आशुतोष शुक्लले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा विशेष र अत्याधुनिक प्रविधिमा रहेर दाँत सम्बन्धि सम्पूर्ण सेवा दिइने छ ।
उद्घाटनको अवसरमा ५१ दिनसम्म दाँतको जाँच निशुल्क हुने र अन्य सेवा तथा औषधीमा समेत २० प्रतिशत छुटको ब्यवस्था गरिएको डाक्टर शुक्लले जानकारी दिनुभयो । यो सेवा सिमित अवधिको लागि भएकाले मौकाको फाइदा लिन समेत उहाँको आग्रह छ । सकेसम्म दाँतका सबै रोग र समस्याको उपचार आफूहरु कहाँ गरिने र नभए उचित परामर्श दिइने भएकाले ढुक्क भई सेवा लिन आउन डाक्टर महोतोको आग्रह छ ।
कार्यक्रममा बोल्दै मेयर थारुले ग्रामिण स्तरको समस्यालाई बुझेर सेवा दिन सुझाउनु भयो । दाँत सम्बन्धि गुणस्तरीय सेवा लिन रुपन्देही जानु पर्ने बाध्यता रहेको सुनाउँदै सस्तो र सुलभ दरमा सेवा दिन उहाँले संचालकलाई अनुरोध गर्नु भयो । आफूले पनि नजिकै दाँत सम्बन्धि उत्कृष्ट सेवा दिने ठाउँ नपाएर धेरै दुख पाएको भन्दै अबदेखि त्यो दुखबाट जनतालाई मुक्त गराउन प्रालिले विशेष भूमिका खेल्ने समेत उहाँले विश्वास व्यक्त गर्नुभयो ।
वडा नम्बर ११ का वडाध्यक्ष सोमनाथ अर्याल, कपिलवस्तु नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष मोहन शर्मा, लिटिल स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल सुन्दर आचार्य लगायतले शुभकामना मन्तव्य राख्दै ग्रामिण स्तरका जनताको सुविधालाई मध्यनजर गर्दै सेवा दिन आग्रह गर्नुभयो । डाक्टर शुक्लका पिता एवं शैक्षिक व्यक्तित्व नन्द किशोर शुक्लाले जनतालाई गुणस्तरीय सेवा र उचित परामर्श दिन सके राम्रो सम्भावना रहेको बताउनु भयो । उद्घाटन कार्यक्रममा उद्योगी, ब्यवसायी, समाजसेवी, पत्रकार लगायतको सहभागिता रहेको थियो । अस्पतालले समग्र कपिलवस्तु जिल्लालाई समेट्ने गरी उत्कृष्ट सेवा दिने अठोट गरेको बताइएको छ ।