१८ मंसिर, काठमाडौं ।
काठमाडौंको गोकर्णेश्वरमा आमाछोरी मृत अवस्थामा फेला परेका छन् ।गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटी बस्दै आएकी सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले जानकारी दिए ।
शेपाकी ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको डीएसपी कार्कीले बताए । दोर्जेलाई उपचारका लागि नेपाल मेडिकल कलेज पठाइएको उनले बताए ।
किरान पसल सञ्चालन गर्दै आएका शेर्पा परिवार बिहान अबेरसम्म पनि नउठेपछि स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।स्थानीयले खबर गरे लगत्तै प्रहरीको टोली गएर शेर्पा परिवार बसेको घरको ढोका फोडेर हेर्दा आमाछोरी मृत अवस्थामा फेला परेको र बुबा भने अचेत अवस्थामा फेला परेको डीएसपी कार्कीले बताए ।‘राति सुत्दा उनीहरूले हिटर बालेका रहेछन्,’ डीएसपी कार्कीले अनलाइनखबरलाई भने, ‘कोठामा भेन्टिलेटर पनि रहेन छ । झ्याल ढोका सबै बन्द गरेर सुतेका रहेछन् । घटनाको प्रारम्भिक अवस्था हेर्दा उनीहरुको निस्सासिएर मृत्यु भएको हुन सक्छ । तर पनि यही कारणले मृत्यु भएको हो भनेर भन्न सक्ने अवस्था भने छैन । दुवै जनाको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाएका छौं ।,’