२१ मंसिर, बुटवल ।
कोरोना महामारीका कारण आठ महिनादेखि बन्द बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई लुम्बिनी आएर मायादेवी मन्दिर सर्वसाधारणका लागि पनि खुला भएको घोषणा गरेका हुन् ।सो अवसरमा मन्त्री भट्टराईले मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन समेत गरे । लामो समयसम्म मायादेवी मन्दिर नखुल्दा पर्यटक नआएको भन्दै स्थानीय पर्यटन व्यवसायीहरुले मन्दिर खोल्न एक महिनाअघिदेखि माग गर्दै आएका थिए ।
विश्वव्यापी कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेको मन्दिर सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर दर्शन गर्न पाउने गरी खुला गरिएको लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री भट्टराईले बताए ।लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले मन्दिर प्रवेश गर्ने भक्तजन र सर्वसाधारणले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, सेनिटाइज हुनुपर्ने, विकास कोषले लागू गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपले पालना गर्नुपर्ने, भिडभाड नगरी एक पटकमा आठ–दश जना मात्र प्रवेश गर्न पाइने बताए ।
यसअघि मंसिर ३ गते मायादेवी मन्दिरबाहेकको लुम्बिनी क्षेत्र घुम्नका लागि खुल्ला गरिएको थियो । तर लुम्बिनीको मुख्य आकर्षण मायादेवी मन्दिर नखुल्दा पर्यटक आगमन बढ्न सकेको थिएन । लकडाउनको समयमा लुम्बिनी विकास कोषले लुम्बिनीको पवित्र उद्यान लगायतका क्षेत्रमा सरसफाइ र सौन्दर्यीकरण गरेर थप आकर्षक बनाएको राईले बताए ।
लुम्बिनी विकास कोषको परिषद बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम पारित गरेको छ ।बैठकले आन्तरिकतर्फ २० करोड १८ लाख र संघीय सरकारको एक अर्ब रुपैयाँको बजेट पारित गरेको हो । त्यस्तै बैठकले आन्तरिक व्यवस्थापन कार्यविधि स्वीकृत गर्नुका साथै ग्लोबल बुद्धिष्ट फोरम गठन गर्ने विषयमा सैद्धान्तिक सहमति गरेको छ ।
त्यस्तै परिषद बैठकले लुम्बिनी बृहत्तर क्षेत्र विकास कार्यक्रमको कार्यविधि पनि स्वीकृत गरेको छ । लुम्बिनी विकास कोषको परिषद बैठक प्रत्येक ६–६ महिनामा बस्ने प्रावधान भएपनि गत फागुन यता बल्ल बैठक बसेको हो । बैठकलाई संबोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लुम्बिनीको बृहत्तर विकासका लागि सरकारले काम गरिरहेको बताए ।
लुम्बिनीको विकासका लागि धेरै अध्ययन भएकाले तिनै अध्ययनको आधारमा विकास गरिने उनको भनाइ छ । नेपाल चिनाउने स्थल लुम्बिनी भएको उल्लेख गर्दै मन्त्री भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।लुम्बिनी मुलुककै प्रमुख पर्यटकीय क्षेत्र भएकाले यसको विकास गरेर पर्यटकलाई आकर्षित गरिने उनको भनाइ छ । लुम्बिनी घुम्न आउने पर्यटक र अध्ययन गर्न आउनेहरुले कम्तीमा पनि तीन दिनदेखि एक सातासम्म बस्ने वातावरण भएमा स्थानीयको आयशक्ति बढ्ने र रोजगारी सिर्जना हुने मन्त्री भट्टराईले बताए ।
कोभिड–१९ को महामारीका कारण पर्यटन क्षेत्र थला परेकाले अब विस्तारै पर्यटकीय गतिविधि बढाउँदै जानुपर्नेमा उनले जोड दिए । मन्त्री भट्टराईले बृहत्तर लुम्बिनी क्षेत्र विकास कार्यक्रमले यस क्षेत्रको पर्यटन व्यवसायसँगै कृषि उत्पादनमा वृद्धि गर्नुका साथै अन्य कुरामा पनि सहयोग पुग्ने बताए ।लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले लुम्बिनी नेपालको गौरव भएकाले यसको विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए ।