२३ मंसिर एजेन्सी-
बेलायतले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको सार्वजनिक खोप कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रमको सुरुवातमा मंगलबार उत्तर आयरल्याण्डकी ९० वर्षीया महिलालाई पहिलो कोरोना खोप दिइएको हो । एन्निसकिलेनकी मार्गरेट कीनानले उक्त खोप पाएकी हुन् । उहाँले कोरोना खोप लगाउन पाउँदा निकै खुसी लागेको बताउनुभयो ।
बेलायतले कोरोना खोप सबैभन्दा पहिला ८० वर्षभन्दा बढी उमेरका मानिसहरु र स्वास्थ्य तथा स्याहार केन्द्रमा काम गर्ने कर्मचारीहरुलाई प्रदान गरिने बताएको छ । बेलायतले सबैभन्दा पहिला अति जोखिमपूर्ण समूहलाई यो खोप लगाउने र जनजीवन सामान्य अवस्थामा फर्काउने तयारी गरिरहेको छ । यद्यपि बेलायतमा खोप लगाउनु अनिवार्य भने हुनेछैन ।