Home Breaking News ओलीलाई स्वागत गर्न तयार छौं : प्रचण्ड

ओलीलाई स्वागत गर्न तयार छौं : प्रचण्ड

पुष ७
केन्द्रीय कमिटीको दोस्रो बैठक हामीले गत माघ महिनाको दोस्रो र तेस्रो हप्तामा सम्पन्न गरेका थियौं । सबैलाई स्मरण होला, त्यो बैठक पार्टी एकता भएपछिको एउटा साँचो अर्थको अर्थपूर्ण, सार्थक र सामूहिक विवेकको प्रयोगद्वारा सही निष्कर्ष निकाल्ने मञ्चका रुपमा सफल भएको थियो । कमरेडहरुलाई लाग्यो कि अब पार्टी बन्ने भयो, त्यस्तो सन्देश दिएको थियो ।
आज ११ महिनापछि हामी केन्द्रीय समितिको यो तेस्रो बैठकमा उपस्थित छौं । तेस्रो बैठकमा आउँदा परिस्थिति नितान्त भिन्न भएको छ । दोस्रो बैठकजस्तो छैन अहिलेको अवस्था । आज पार्टीको एउटा पक्ष, समूह भनौं या एउटा गुटले नाम यही राखेर, तर अर्कै पार्टी दर्ता गर्न निर्वाचन आयोगमा गएको समाचार भर्खरै हामीले हेर्‍यौं ।
म उनीहरुलाई के भन्न चाहन्छु भने यो एकीकृत पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको बैठक हो । केन्द्रीय समितिको बैठक हुनका लागि आवश्यक पर्ने सबै वैधानिक र आधिकारिक अवयवहरु यो हलभित्र छ । म बडो प्रष्टसँग भन्न चाहन्छु र यो मञ्चबाट मेरो बोली बाहिर जाओस् भन्ने पनि चाहेको छु । बाहिरी दुनियाँले पनि सबै सम्बन्धित निकायले पनि राम्रोसँग सुनून् भन्ने पनि मेरो आधिकारिक धारणा छ । यो हलभित्र अहिले ६६ प्रतिशतभन्दा बढीको प्रतिनिधित्व गर्ने केन्द्रीय समितिका सदस्यहरुको उपस्थिति छ । यो भनेको दुई तिहाइ बहुमतभन्दा बढी हो । मलाई भनिएअनुसार केही कमरेडहरु बाटोमा आउँदै हुनुहुन्छ, यही बैठकका लागि र केही कमरेडहरु आज नआए पनि भोलि आउँछौं भनेर यहाँ बस्दाबस्दै सूचना आएको छ । ती कमरेडहरुसँग पनि जोड्दा हामी ६७/६८ प्रतिशत सदस्यहरुको सहभागिता छ । त्यसकारण यो केन्द्रीय कमिटीको बैठक हो ।
केपी ओलीले मूर्ख भएर मात्र गरे भनेर चुनाव हुन्छ होला भनेको ठान्नु ठूलो गल्ती हुन्छ ।यसका पछाडि सम्पूर्ण चिज प्रतिगमनतिर लैजाने षड्यन्त्र अन्तरनिहीत छ
हाम्रो संविधानको मर्म र भावनाअनुसार, हाम्रो निर्वाचन आयोगको नियम, कानुन, ऐनअनुसार हामीले बनाएका अन्य मान्यताअनुसार यो केन्द्रीय समितिको आधिकारिक र वैधानिक बैठक हो । अर्को, ३०/३२ प्रतिशत पनि नपुगेको समूहले नेपाल कम्युनिस्ट पार्टी -नेकपा) को मान्यता प्राप्त गर्न सम्भव छैन । आधिकारिक छैन । वैध छैन । यो कुरा निर्वाचन आयोग, संविधानविद्, कानुनविदहरुले हेर्ने नै छन् । साँच्चै जतात्यतै बेथिति-जतात्यतै अराजकताको भूँवरीमा पर्न खोजेको हो त ? सम्बन्धित निकायका पदाधिकारीहरु संविधान र ऐनको व्यवस्थाअनुसार विधिसम्मत ढंगले चल्छन् भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । विधिको शासनलाई सम्मान गर्नेछन् भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।

यो एकीकृत पार्टी हो । तत्कालीन एमाले र तत्कालीन माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी -नेकपा) हो । यहाँ पूर्वएमालेका वरिष्ठ नेताहरु, पार्टी निर्माण गरेर नेतृत्वमा भूमिका खेलेका नेताहरुदेखि स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरुको ठूलो उपस्थिति छ । तत्कालीन नेकपा माओवादी केन्द्रको त झन् ठूलो उपस्थिति छ र यो एकीकृृत पार्टी हो । यो कुरा पनि बाहिरी दुनियाँले राम्रोसँग सुनोस्, बुझोस् भन्ने चाहेको छु । यो एकीकृत नेपाल कम्युनिस्ट पार्टी नेकपा हो ।

म कमेरड बामदेव गौतम पनि छिट्टै यो बैठकमा सहभागी हुने विश्वास व्यक्त गर्न चाहन्छु । उहाँलाई अनुरोध पनि गर्न चाहन्छु । मैले अलि बढी भावनात्मकरुपमा भरोसा गरेको, विश्वास गरेको नेताभित्र पर्नुहुन्छ, वामदेव कमरेड । साह्रै नजिक भएकाले कहिलेकाँही घोचपेच पनि हुन्छ । त्यसलाई कमरेड बामदेव गौतमले सहजरुपमा बुझ्नुहुन्छ भन्ने विश्वास लिएको छु । उहाँ उता जानुभएको छैन, यता आउने सम्भावना छ । आधिकारिक पार्टी यही हो । कमरेड ! तपाईं हामीले बनाएको पार्टी यही हो । त्यसकारण तपाईं आउनुस् भन्न चाहन्छु ।

कमरेड बादलसँग आज बिहान मेरो गम्भीर कुरा भएको छ । मलाई के विश्वास छ भने भोलि कमरेड बादल यो बैठकमा आउनुहुन्छ । मलाई त्यही विश्वास दिलाउनुभएको पनि छ । उहाँलाई पनि सगौरव आधिकारिक र वैध पार्टीमा सामेल हुन अपिल गर्न चाहन्छु । हामी सबैले त्यो चाहना राखेका छौं, यो सिंगो हलले सचिवालयका दुईजना नेता कमरेड वामदेव गौतम र बादललाई पनि अगाडि देख्न चाहेको छ । म उहाँहरुलाई विनम्रतापूर्वक यो पार्टी निर्माणमा हामीले खेलेको भूमिका निस्तेज हुन नपाओस् भनेर अपील गर्न चाहन्छु ।

मैले भन्न के खोजेको भन्ने कमरेडहरुले बुझिहाल्नुभयो, यो पार्टी हो । बिहान -बालुवाटारमा) जे गरियो, एकातिरबाट हेर्‍यो भने त्यो गुटको घेरा हो । त्यसलाई पार्टी भन्न मिल्दैन । त्यहाँ एकीकृत स्वरुप नै छैन । एक/दुईटा नम्बर यसो देखाउन खोजियो होला । एक/दुईजनाको अनुहार देखाएर पार्टी हुन्न, त्यसकारण गुट नै हो । उहाँहरुले जे निर्णय गर्नुभयो, मेरो दृष्टिमा त्यो पार्टीको आधिकारिक र वैधानिक निर्णय हुन सक्दैन । एक तिहाइभन्दा कम केन्द्रीय सदस्य बसेर दुई तिहाइभन्दा बढी मान्छे थपेर निर्वाचन आयोगमा लगेर देखाउनुलाई नौटंकीबाहेक केही भन्न सकिन्न । यो नौटंकीलाई आधिकारिक संस्थाहरुले मान्यता दिन्छन् भने त्यसलाई दुर्भाग्यबाहेक केही भन्न सकिन्न । यद्यपि मैले ती संस्थाहरूप्रति अविश्वास गरेको छैन । तर, जे गरियो, आज बिहान, त्यसमा न आधिकारिता छ, न वैधानिकता छ । न त्यसमा परम्परा जोडिएको छ, न एकताको ऐतिहासिक भावना प्रतिबिम्बित भएको छ । त्यसकारण त्यो गुटको भेलाबाहेक केही होइन ।

केही पहिले, सायद त्यो कमरेड तुलसीलाल अमात्यको स्मृति दिवस थियो, कमरेड माधव नेपालले यो पार्टी फुट्दैन, फुटाउन दिइँदैन, भएछ भने चोइटिने हो भनेर बोल्नुभएको थियो । आज उहाँको त्यो भनाइ पुष्टि भएको छ । पार्टी फुटेको छैन, चोइटिएको मात्र हो ।

उहाँले कुर्सी हटाइदिनुभयो, त्यो पनि मानेँ, जति छोडेँ, उति न्याके । अब यो पीडितहरुको मोर्चा भयो, केपी पीडितहरूको मोर्चा
पार्टी भनेको विचार हो, विधि हो । यो विश्वव्यापीरूपमा स्थापित सत्य पनि हो । विचारको दृष्टिकोणले योचाहिँ पार्टी हो, यो हल बनाएर जो हामी बसेका छौं, मार्क्सवाद, लेनिनवादका सिद्धान्तहरुलाई आत्मसाथ गर्दै समाजवाद निर्माणको आधार तयार पार्दै रणनीतिक उद्देश्यप्रति इमान्दार भएर देशमा समाजवादी अर्थतन्त्र, समाजवादी राजनीति र समाजवादी संस्कृतिको संरक्षण गर्ने संकल्प गर्दै हामी यो बैठकमा भेला भएका छौं ।

माधवजी, झलनाथजीले अघि भनिसक्नुभयो, त्यही कुरा म दोहोर्‍याउन चाहन्नँ । तपाइर्ंहरुले १० पृष्ठ लामो आरोपपत्रको खण्डनमा मैले लेखेको ७ पृष्ठको पत्र हेर्नुस् वा हामी सबै मिलेर तयार पारेको १९ पृष्ठको प्रस्ताव हेर्नुस् । त्यहाँ समाजवाद, मार्क्सवाद र पार्टी निर्माणको योजना छ ।

अर्का अध्यक्ष केपी ओलीको सोच्ने तरिका मार्क्सवादी भएन, कम्युनिस्ट पार्टीको सिद्धान्तअनुसार भएन, एकाधिकारवादी भयो, निरंकुशतावादी भयो । त्यो शैलीले हुँदैन भनिएको छ । सरकार सञ्चालनको तरिका पनि कम्युनिस्ट पार्टीको जस्तो भएन । पार्टी र सरकारको सम्बन्ध पनि एउटा कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार चलाउने र समाजवादी विकासको नयाँ मोडल हुने गरी भएन । दलाल, उदार नोकरशाही, पुँजीवादकै पछि लागेको देखियो आदि इत्यादि । सुशासन जसरी दिनुपर्ने हो, त्यो भएन । बरु शृङ्खलावद्ध भ्रष्टाचारका मुद्दाहरु आइरहे ।

भन्न त कतिपय मान्छेहरुले यो पद प्राप्त गर्नका लागि बनाएको भनेजस्तो गरे । होइन कमरेडहरु, यो साँच्चै कम्युनिस्ट पार्टी बनाउने, २१औं शताब्दीको आवश्यकताअनुसार पार्टी बनाउन चाहन्छौं । मेरो दिमागमा कुनै डग्म्याटिक (जडसूत्रवादी) डिजाइन गर्ने र बाहिर…. देखाउने मेरो चरित्र पनि छैन, इतिहास छैन । २१ औं शताब्दीको नयाँ कम्युनिस्ट पार्टी, जसले समाजवादको आधार तयार गर्न सक्छ, त्यस्तो आचार-विचार, संगठन भएको पार्टी, जनतासम्म स्कुलिङ दिन सक्ने पार्टी नबन्ने भयो भन्ने चिन्ता व्यहाँ व्यक्त भएको छ । त्यो मेरो मात्र एजेण्डा होइन, कमरेड झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ प्रकाश लगायत तपाईंहरु सबैको चिन्ता हो । देशकै चिन्ता हो भन्ने लाग्छ । कम्युनिस्ट आन्दोलनको त्यही चिन्तालाई अभिव्यक्त गर्ने ढंगले नै हामीले सामूहिक ढंगले सो प्रस्ताव तयार पारेका हौं । त्यहाँ विचार छ, राजनीति छ, समर्पणको ओरियन्टेसन छ ।

हामी सबै कम्युनिस्ट हुन चाहने, सामूहिक विवेकको प्रयोग गरौं भन्ने विचारका मान्छेहरु हौं । उहाँ -ओली) सँग मिलेन । उहाँको सोच्ने, काम गर्ने तरिका कम्युनिस्ट, मार्क्सवादसँग साइनो सम्बन्ध नै देखिनँ । बैठक बस्ने, आलोचना-आत्मालोचना गर्ने धैर्यता विल्कुल देखिनँ मैले । बैठक बस्नका लागि यति धेरै अनुनय विनय गर्नुपर्‍योे कम्युनिस्ट पार्टीभित्र पार्टीको एउटा अध्यक्षले अर्को अध्यक्षलाई । यो विडम्बना भएको छ, यसलाई सामान्य नठान्नुहोला ।

पार्टी एकतापछि बडो विचित्रको अढाइ वर्ष बितायौं हामीले । पाँच जनाले भोगेको कथा, परिघटना यहाँहरूले सुनिसक्नुभयो । यति गर्दा पनि पाँच जनाले बैठक बोलायौं । यति गर्दा पनि नमानेर महासचिवलाई तोकआदेश गरेर टाइम सार्न लगाएको कुरा यहाँहरूले सुनिसक्नुभयो । यति गर्दा पनि हामीले कम्युनिस्ट पार्टीकै बैठक गर्न चाहृयौं ।

अबको यो बैठक विचार आधारित, विधि आधारित र एउटा नयाँ संस्कृतितिर पार्टीलाई लैजानेतर्फ बहस केन्दि्रत हुन्छ । योबीचमा कम्युनिस्ट पार्टी र नेताप्रति जनतामा वितृष्णा, असन्तुष्टि पैदा भयो । पार्टी त एकतावद्ध देखियो, तर काम केही हुन सकेन । बैठक बस्न सकेन । बहस हुँदैन, बहस गर्न खोज्दा पाइँदैन भनियो । अस्तिको सचिवालयको बैठकमा उहाँले झण्डै एक घण्टा बोल्नुभयो । हामीले तयार पारेको प्रस्तावलाई गाली गर्नुभयो । यसमाथि बहस हुनै पाउँदैन भन्नुभयो । आफूलाई चाहिँ सबै तरिका प्रयोग गरेर भन्नुसम्म भन्नुभयो । धैर्यतापूर्वक हामीले सुन्यौं । जब मैले थोरै बोल्न के खोजेको थिएँ, कमरेड मात्रै के भनेको थिएँ, सीमा नाघेर बोल्न पाइँदैन भनियो । सचिवालयका कमरेडहरूतिर फर्किएर मैले बोल्न पनि नपाउने ? उहाँले त्यो अधिकार कहाँबाट पाउनुभयो ? सचिवालयको बैठकमा अर्को अध्यक्षले बोल्न पनि नपाउने ? मैले सीमाभित्र रहेर बोलेँ कि सीमा बाहिर गएँ कि भन्ने कुरा छलफलै नगरी फैसला गर्ने अधिकार उहाँलाई कसले दियो ?

झलनाथ कमरेडले यो हद भयो, बोल्न पाउनैपर्छ भन्नुभयो, माधवजीले भन्नुभयो, वामदेवजीले भन्नुभयो, नारायणकाजीजीले भन्नुभयो, बादल कमरेडले भन्नुभयो । दस्तावेजै हो, बोल्न पाउनुपर्छ भनेर ईश्वरजीलेसम्म पनि भन्नुभयो । सबैले पाइन्छ भनेपछि बल्ल बोल्नुस् बोल्नुस् भने । प्रवृत्ति हेर्नुस् । कस्तो निरंकुश प्रवृत्ति ? आइ एम दी स्टेट, आइ एम अल इन वन भन्ने प्रवृत्ति राजनीतिमा यस्तो कहिल्यै देखिएन ।

पार्टी एकता हुनुपर्छ भन्ने प्रस्ताव गरेको हुनाले एकता नटुटोस् भनेर उहाँलाई फकाउन छोड्दै-छोड्दै गएँ । दुईवटा अध्यक्ष आलोपालो भन्न पनि छोडें । दुईवटा अध्यक्षको एउटै हैसियत हो, पहिलाको सहमतिमा । एक नम्बर र दुई नम्बर भन्ने नै होइन । हुँदाहुँदा बराबरी सरकारको नेतृत्व गर्ने पनि छोडिदिएँ । सरकार मेरो प्राथमिकता नै होइन भनेर छोडिदिएँ । कार्यकारी पाएपछि के चाहियो भनेर अढाई वर्षको सरकार छोडिदिएँ । तर, छोडेर पनि मैले सुख पाइनँ । जति छोडेँ, उति न्याके । उहाँले कुर्सी हटाइदिनुभयो, त्यो पनि मानेँ । कहिलेकाँही म भन्छु, अब यो पीडितहरुको मोर्चा भयो है । केपी पीडित । केपीको व्यक्तिवाद पीडितहरुको मोर्चा भयो । केपीको मार्क्सवाद विरोधी चिन्तन पीडित । मैले भन्छु- पीडितहरु अझै छन्, यो संसारमा । पीडकहरु थोरै छन् । पीडकहरु थोरै छन्, पीडितहरु धेरै छन् । तसर्थ, हाम्रो मोर्चा श्रमजीवी पीडितको मोर्चा देख्छु । विचार गर्नुहोला, हिजो कम्युनिस्ट पार्टी बनाउन भूमिगतकालमा, पञ्चायतकालमा निरङ्कुशताका विरुद्ध रातदिन खटेर पार्टी बनाउने नेताहरु यहाँ छन् । यहाँ मार्क्सवादी, श्रमजीवी, पीडित मान्छेहरु छौं । यो अर्थमा पनि यो पार्टी कम्युनिस्ट पार्टी हो । यो बैठकचाहिँ कम्युनिस्ट पार्टीको बैठक हो । पीडितहरूको बैठक हो । श्रमजीवीहरूको बैठक हुन जाँदैछ । यो त्यस्तो बैठक हो ।

उताचाहिँ (अर्कातिर) उत्पीडकहरुको बैठक हो । शासकहरुको बैठक हो । व्यक्तिले शासन गर्ने होइन, सत्ताले शासन गर्ने हो । हेर्नुहोस् त जालझेल षड्यन्त्र । उहाँ (ओली) लाई पार्टी एकता चाहिएको रहेन छ । प्रधानमन्त्री हुने कुराको ग्यारेन्टी चाहिएको । सत्ता प्राप्तिको ग्यारेन्टी पार्टी एकताले मात्रै हुन्छ भन्ने बुझेको । एकदम सत्ता कहाँ र कसरी पाइन्छ भन्ने कुरा शासकहरुले जसरी सोच्छ, त्यसरी सोच्नचाहिँ उहाँ सिपालु । सायद जेल बस्दा चाणक्य नीतिहरु पढ्नुभयो होला । महाभारत सबै पढ्नुभयो होला । तर, उहाँले मार्क्सवाद पढ्नुभएन छ । सकुनीका पासाहरु त धेरै सिक्नुभएछ ।

माधवजीलाई बोलाएर मेरो मातापिता तपाईं नै हो भन्नुसम्म भन्नेले मलाई बोलाएर के भन्नु भएन ? मैले त यहाँ नेताहरु नभएर नेताहरु निर्माणको खाँचो भएर पार्टी एकता गरेको हो भन्नुभयो । एकचोटि होइन, पचास, सयचोटि भन्नुभयो उहाँले । उही दिन एघार बजे वामदेवजीलाई बोलाएर तपाईं अध्यक्ष पनि हुने हो, प्रधानमन्त्री पनि हुने हो भन्नुभयो । उही दिन माधवजीलाई बोलाएर अबको अध्यक्ष र प्रधानमन्त्री तपाईं हो भनिदिनुभयो । फेरि भोलिपल्ट मलाई तपाईंको आकांक्षा छ त्यस्तो । यस्तो कार्यशैलीले हामी कम्युनिस्ट बन्छौं ? हामी जनतासँग जोडिन्छौं त ? झलनाथजीलाई (ओलीले) धेरै भन्नुहुन्न । झलनाथजीलाई पहिला एक ढंगले दिइयो, पछि अर्को ढंगले दिनु त भयो । तर उहाँमा आश धेरै गर्नुहुन्न ।

यस्तै पाराले त पार्टी त नचल्ने भयो । यही पाराले बिस्तारै हामी पनि बिग्रँदै जाने भइयो । पद र लाभ पाइन्छ भने विचार सिद्धान्त इमान आदि कुरा त केही पनि होइन भन्ने विचार राख्न थालेको देखिन्छ । कहिलेकाहीँ इमानको कुरा पनि बोलिहालियो भने यो देखाउनका लागि कहिलेकाहीँ इमान्दार भएजस्तो गर्ने गरेको देखियो ।

१९ पृष्ठ लामो प्रस्ताव लेख्दा पनि मैले सोचेको के भने यसो हेर्दा त यो प्रस्ताव केपीजीकै विरुद्ध भएको जस्तो छ । तर, म के भन्न चाहन्छु भने यो त हामी सबैको विरुद्ध हो । हामी सबै एक हिसाबले बिग्रिएका छौं । बिग्रिएकालाई सच्याउने कसरी त भन्दा बहस र संघर्षबाहेक त अरु विकल्प त छैन । अब हामीले उपदेश दिएर हुने पनि होइन, ल अब आजबाट सच्चिन्छु भनेर पनि हुन्न । गलतविरुद्धको संघर्षबाट नै सही मार्ग भेटिन्छ भन्ने मार्क्सवादको मान्यता पनि यही हो । विज्ञानको मान्यता पनि यही हो ।

हामी जनतासँग छोडिने कि जोडिने ? हामी जनताका सेवक हौं कि मालिक हौं ? हामी विस्तारै मालिक हुनेतिर गयौं । त्यसैले यो हाम्रा विरुद्धको संघर्षको सुरुवात भन्ने बुझ्नुपर्छ । केपी त केपी भइहाल्नुभयो । हामी के भाछौं र हामी के हुन्छौं भन्ने कुराका निम्ति …पहिले पहिले जनयुद्ध वा जनआन्दोलनको बेलामा हामी भन्थ्यौं, आफ्नै टाउकामा आगो लगाउने । यसो हेर्दा खतरा छ नि । मलाई भन्नुहुन्छ भने १९ पृष्ठको प्रस्ताव पेश गरेपछि मलाई जति धम्की अरु कसैलाई पनि आएको छैन जस्तो लाग्छ । ठूलठूलै धम्कीहरु छन् । ती सबै यहाँ भन्दिनँ । तर, तपाईहरु बुझ्नुहोला कुरा । धेरै संवेदनशील ठाउँहरुबाट सुरक्षित रहु, सुरक्षित रह भन्ने यतिधेरै सन्देश आउन थाले कि म आत्तिन थालें । हिजो जनयुद्धमा अब हामी मारिन्छौं होला, संगै मरिन्छ होला, यत्रो राज्यविरुद्ध लडेपछि भन्ठान्थ्यौं । तर, परिवर्तनका निम्ति हाम्फाल्ने हो भनेर हाम्फालेका हौं ।

शान्ति प्रक्रियामा आउँदा पनि माधवजी त महासचिव हुनुहुन्थ्यो । सबैभन्दा बढी छलफल उहाँसँगै हुन्थ्यो । अहिले कम्युनिस्ट मिलेपछि अर्को जनयुद्ध सुरु गरेझै आतंकित पार्न खोजिएको छ । राति निद्रा लाग्दैन । पार्टी त सिद्धिने भयो भनेको जस्तो लाग्छ । विहानै बालुवाटार, बेलुकी नै बालुवाटार हुन थाल्यो । प्रचण्ड भनेको त केपीको अगाडि निरीह । केपी ओली सिंह जस्तो, प्रचण्ड स्याल जस्तो भन्न थाले । हुँदाहुँदा मिडियाका साथीहरु पनि के भएको यो प्रचण्ड, बिहानै बालुवाटार, बेलुकी बालुवाटार । अध्यक्ष भनेको छ कार्यकारी, बैठक राख्न सक्दैन । अनि कसरी निद्रा लाग्नु, भन्नुस् त ? यत्रो क्रान्तिकारी आन्दोलनको नेता रे, म जति निरीह त कोही पनि भएन नि योबीचमा ।

जब यो १९ बुँदामा हामी सहमत भएर पेश गरेपछि म रिल्याक्स भएँ, निद्रा लाग्न थाल्यो । किनभने, गलत प्रवृत्तिविरुद्धको संघर्षमा आनन्दानुभूति गर्न सकियो भने अगाडि गइन्छ भन्ने लाग्छ ।

समग्रमा भन्दा यो हाम्रो आफैं विरुद्धको संघर्षको सुरुवात हो । अब हामी यहाँ आइएको छ, मेरा छोराछोरी, घर गाडी, पद जान्छ कि भन्ने हो भने के क्रान्तिकारी भइन्छ ? के गरी पार्टी बनाइन्छ ? सत्यको निम्ति लड्दा, गलत प्रवृत्तिका विरुद्ध लड्दा आइलाग्ने सबथोक सामना गरिन्छ भन्ने विश्वास भएपछि जन्मिएको हो यो १९ बुँदे । त्यसपछि केपीजीको ३८ बुँदे आएको छ । हामी त्यसमा बहस गर्न तयार छौं । यो १९ बुँदे, त्यसपछि ३८ बुँदे केपीजीको आएको छ । हामी त्यसमा बहस गर्न तयार । मेरो तर्फबाट यो बैठकमा फेरि त्यो ३८ बुँदेको स्पष्टीकरण पनि ४० पेजको आउँदैछ है । ३८ पेजका विरुद्ध ४० पेजको तयार भएको छ । भोलि म तपाईंहरु भए ठाउँमा वितरण गर्छु । त्यसो भएपछि छ्याङ्ग हुन्छ कुरा के रहेछ भन्ने कुरा । पढ्नेहरुका लागि ए यस्तो रहेछ भन्ने बुझ्न सजिलो हुन्छ भन्ने लागेको छ ।

यहाँ यति संघर्ष हुँदाहुँदै पनि हामी फेरि पार्टी एकताचाहिँ बचाएर लान पाए हुन्थ्यो, फुट्न पनि पार्टीलाई नदिने, केपीलाई पनि नियन्त्रण गर्ने उपाय के हुन सक्छ, यसमा बढी कमरेडहरुलाई सहभागी गराएर बहस गर्न पाइयो भने, सबैका कुरा सुनाउन पाइयो भने, हुन्छ भनेर बैठक बस्ने हो हामीले । कमरेडहरुले हेर्नुभयो भने असारको बैठकमा स्थायी समितिका कमरेडहरुले लाइन लागेर बोलेको उहाँले सुनेको भए उहाँको दिमागमा अलिकति तरंग, अलिकति तार गएर त्यहाँ फ्युज हुन्थ्यो कि भन्ने लाग्थ्यो । तर, सुन्नै चाहनुभएन, सुन्नुभएन ।

त्यत्रो दुई/तीन महिना व्यतीत गर्‍यो (स्थायी कमिटी) बैठकले । उहाँले त सुन्दै सुन्नुभएन कसैको कुरा पनि । अरु त सुन्नुभएन सुन्नुभएन, लाष्टमा कार्यदलले ल्याएको रिर्पोट पास गर्ने बेलामा पनि सुन्नुभएन । सहमति गर्ने कुरा त सुन्न मन लाग्नुपर्ने नि । सहमतिका कुरा त उहाँकै पक्षमा थिए, त्यो पनि सुन्नुभएन । अनि यो सहमति राम्रो छ भन्नुपर्ने, त्यो भन्न पनि जानुभएन । त्यहाँ गएर लहै कमरेडहरु, अब पार्टी राम्रो भयो भन्नुभएन नि उहाँले । म एक्लैले भनेँ । मैले राम्रो भयो भनेँ । उहाँ आउँदै आउनुभएन । एकैछिन बिहान देखिनुभएर नगएको नगएकै बैठक सकिएको हो । बैठक त सकियो, सहमति भयो, धेरै साथीहरुलाई खुसी पनि लाग्यो । देशभरि पनि ए अब त जे होस् पार्टी बच्ने भयो भन्ने लाग्यो । तर, पर्सिपल्ट उहाँले महासचिव र मेरा अगाडि भन्नुभयो- तिमीहरुले घिसारेर ल्याएर सही गराएको न हो । के-के मन पर्‍या थिएन, के-के मन पर्‍या छैन, यो निर्णय नै मन पर्‍या छैन भनिदिने । मैले यो कुरा सचिवालयमा पनि भनेको छु, स्थायी समितिमा पनि भनेको छु । उहाँकै अगाडि, केपीजीकै अगाडि पनि भन्या छु मैले यो कुरा ।

तपाईं हामी कोही-कोहीलाई के लाग्यो भने- प्रचण्डले केपीलाई अठ्याएछ कि क्या हो साह्रै भन्या जस्तो लागेको सुन्छु म चाहीँ कहिलेकाहीँ । मेरो पीडा अध्यक्षका रुपमा आफ्नो ठाउँमा छ । त्यसकारण कमरेडहरु अहिले हामी पछिल्लोमा आउँदा को पार्टी एकताको पक्षमा हो, को फुटको पक्षमा हो भन्ने अझ संश्लेशित रुपमा, अझ संकेन्दि्रत रुपमा, अझ घनिभुतरुपमा व्यक्त भयो ।

हामीले १९ बुँदे पेशगरे पछि पनि उहाँले त्यसको जवाफ लेख्न १० दिन चाहिन्छ भन्नुभयो । ल, ओके भन्ने भयो । समय दिउँ भन्ने भयो, दियौं । उहाँले लेखेर ल्याउनुभयो । फेरि त्यो अध्ययन गर्न ५ दिन लिने भने, हामीले हुन्छ भन्यौं । अनि धुम्बाराहीमा स्थायी समिति बैठक राख्यौं । उहाँ आउनुभएन । फेरि अर्को पत्र पठाउनुभयो । मैले त्यसको जवाफमा केही कुरा भन्नुपर्ने, भनेँ । तर, पनि फेरि पार्टी एकता त बचाउनुपर्छ । एक अर्कामा अन्तरक्रिया त अझै गर्नुपर्छ भनेर फेरि तीन या चार दिन फेरि समय दियौं । हामी समय दिँदै जाने, उहाँले पार्टी फुटाउँदै जाने भएको छ, अनुभव यो हो ।

प्रधानमन्त्रीजस्तो मान्छेले यस्तो ढाँटछलको राजनीति गर्न हुन्छ त ? नाङ्गै ! यस्तो देशको गति के हुन्छ ? प्रमुख नेता नै यस्तो छली भएपछि यो पार्टी के भयो त अब ?
तपाईं सबै कमरेडहरुले हेर्नुभयो भने केन्द्रीय समितिको बैठक, पोहोरको अध्यादेशदेखि असार-साउनमा उहाँले एमाले दर्ता गरेदेखि, यो कार्यदलले ल्याएको प्रतिवेदनमा जबरजस्ती सही गराएको भन्नेदेखि सर्वसम्मत निर्णय भए पनि दुई दिनपछि म मान्दिनँ भनेर निहु खोज्यादेखि उहाँले हरेकपटक त पार्टी फुटाउनु भएकै छ । हामीले हरेक पटक फुटबाट जोगाउनुपर्छ, जनता फुट चाहँदैनन्, कार्यकत्र्ाा फुट चाहँदैनन् भन्दै हामीचाहिँ फेरि सोझो नै भएर, लचिलो नै भएर जाँदै थियौं ।

पछिल्लो म भन्छु- उहाँले त हठात् अध्यादेश ल्याइदिनुभयो संवैधानिक परिषदसम्बन्धी । पार्टीको बैठक चलिराख्या छ । म बीच-बीचमा बालुवाटार जाने नै गरिराख्या थिएँ । मलाई जानकारी पनि छैन । बैठकलाई जानकारी पनि छैन । उहिलेदेखिको संवैधानिक परिषदको खाली ठाउँ नियुक्ति गर्नलाई सहमतिबाट गर्नुपर्छ भन्ने भएकै थियो । र, सहमतिको प्रस्ताव बनाउनका लागि शेरबहादुर देउवा, प्रधानमन्त्री समेत बसेर प्रस्ताव बनाउने अनि सचिवालयमा लगेर मात्रै गर्ने भन्ने हाम्रो ५/७ महिनादेखिको कुराकानी थियो ।

तर, योपटक एकचोटि सुइँको पनि नदिइकन अचानक, आकस्मिकरुपले अध्यादेश लिएर आउनुभयो । त्यसको विरोध गर्‍यौं हामीले । सबैतिर बिरोध भयो । अब उहाँले त हाम्रो सोझोपन, हाम्रो लचिलोपन, हाम्रो इमान्दारितालाई कमजोरी ठान्दै पार्टी त फुटाउनेतिरै आयो भनेपछि हामीले पनि यसको प्रतिवाद त गर्नपर्‍यो भनेर ८३ जना माननीयहरुको हस्ताक्षरसहितको समावेदन राष्ट्रपतिकहाँ लिएर अधिवेशन छिटो बोलाउन लिएर गयौं । कमरेड घण्टा भीम रावल र पम्फा भुसाल ६/६ बस्दा पनि दर्ता हुँदैन । के भयो यो देश ? ८३ जना सांसदको हस्ताक्षर छ, पार्टीका दुईजना बरिष्ठ नेताहरु जानुभएको छ । तर, ६ घण्टा बस्दा पनि दर्ता हुँदैन् । यसबाट हाम्रो विधि विधानको स्थिति के छ नेपालको भन्ने पनि झल्किएको हो । तर, पनि हामी पार्टी एकताचाहिँ यताउति हुन हुन्न भन्नेखाले परियो नि त । हामी अलिकति मुडे बल गर्नेखालको परिएन । त्यसो भएपछि यहाँ घनश्याम भुसाल हुनुहुन्छ, उहाँ अलि बढी त्यो दिन दुर्घटनाबाट बचाउँ भनेर अलि बढी सकि्रय हुनुभयो । उहाँसँगै म पनि सक्रिय भएँ । र, त्यो अध्यादेश पनि फिर्ता लिउँ र त्यो समावेदन गर्न गएको पत्र पनि फिर्ता लिउँ र जाउँ भनियो ।

लामो कच्याक कच्याक भएपछि उहाँले हुन्छ, फिर्ता लिन्छु भन्ने शर्त त मुखबाट निकाल्नुभएन । तर, पनि ल त्यही गर्ने भने । महासचिवसहित अरु साथीहरुले लौ त्यही गर्ने भनेपछि लौ त त्यही गर्ने, जाउँ बैठकमा, बरु दुई दिन अरु रोकौं भनेर आइयो । बैठकमा उहाँले स्थायी कमिटीमा धेरै छौं यहाँ, हामी सबैले सुनेका छौं, संवैधानिक परिषदको बैठक भएको छैन । पदाधिकारीहरु नियुक्त भएका छैनन्, मैले भएको छैन भनेपछि सिद्धिहाल्यो नि भन्नुभयो । उहाँले भनेको यही हो । उहाँले फिर्ता लिन्छु भन्ने शब्द त प्रयोग गर्नुभएन । सर्वसम्मत निर्णय भयो, फेरि दुइटै फिर्ता लिने भन्ने । उहाँसमेतको विरोध र नोट अफ डिसेन्ट त छैन । तर, अहिले त छ्याङ्ग देखियो नि, भइसकेको रहेछ निर्णय त । सबै पदाधिकारीहरुको निर्णय नै भइसक्या रहेछ । हस्ताक्षर पनि भइसक्या रहेछ । भनेपछि प्रधानमन्त्रीजस्तो मान्छेले पार्टी अध्यक्ष जस्तो मान्छेले यस्तो ढाँटछलको राजनीति गर्न हुन्छ त ? नाङ्गै, यस्तो पनि हुन्छ त ? यस्तो देशको गति के हुन्छ ? यस्तो पार्टीको गति के हुन्छ ? प्रमुख नेता नै यस्तो छली भएपछि यो पार्टी के भयो त अब ? पछि त हो रहेछ । अथवा, ब्याकडेटमा गरे पनि त बेइमानी भयो नि त । उहाँ ८३ जनालाई फिर्ता गराइसक्ने अनि आफु, चाहिँ फेरि अगाडि जाने । हामीले त रोक्यौं । फेरि पनि ल ठीक छ, अझै अन्तरक्रिया गरौं भनेर बसिराखेकै थियौं ।

त्यो दिन बिहान, जुन दिन संसद विघटनको प्रस्ताव भयो । साँढे ५ बजे बिहान मैले थाहा पाएँ । उहाँ मुड बनाएर, तयारी भइसक्यो । थाहा पाएपछि मेरो त्यो जसरी पनि रोक्नुपर्छ भन्ने भयो । माधवजी एक्सरसाइजमा बस्ने बेलामा पनि अनेक गरेर अरुलाई लगाएर उहाँलाई सम्पर्कमा, झलनाथ जीलाई सम्पर्कमा, अरु साथीहरुलाई सम्पर्क गरेर यस्तो हुँदैछ भन्ने भयो । त्यही दिन विष्णु पौडेल आउने कुरा थियो । मैले जनार्दनलाई पनि लौ न यहाँ त दुर्घटना हुन लाग्यो तुरुन्तै आउनुस् त भन्दा आधा घण्टा भन्नुभयो । होइन, दौडिनुस् भनें । अरुसँग पनि फोन गरेर के छन् सूचना भनेर बुझ्ने कोसिस गरेँ ।

लास्टमा चाहिँ केपीजीलाई नै फोन गरेँ । आज तपाईंहरु एक्स्ट्रिम डिसिजन गर्नेतिर जानुभएको छ रे भन्ने सुन्छु, हामी त लगातार अन्तरक्रियामै छौं, गृहकार्यमै छौं, उपाय खोजी गर्ने भनेर भनिरराख्या छौं । अहिले पनि शंकर पोखरेलसँगै बसिराखेकै छु, सुवाससँग पनि कुरा भइराखेकै छ भनें ।

‘होइन तपाईंहरुले मलाई जसरी पनि हटाउने, जसरी पनि उ गर्ने भन्ने देखेँ । त्यसो भएर मचाहिँ अब अलिकति नयाँ ढङ्गले सोच्दैछु । तर, टुङ्गो त छैन भन्नुभयो । मैले भनेँ, मसँग एकचोटि कुरा नगरिकन कुनै डिसिजन नगर्नुहोला । लास्ट कुरा गरौं, गम्भीर ढङ्गले कुरा गरौं, दुई/चार घण्टा, केही पनि निस्केन भने तपाईंले सकेको तपाईंले गर्नुहोला, हामीले सकेको हामी गरौंला, त्यसकारण अहिले त्यो बिन्दु आइपुगेको छैन । म आउँछु, एक/दुई घण्टा कुरा गरौं, अनि के गर्नपर्छ गरौंला भनेर मैले ११ या साँढे ११ मा खाना खाएर आउँला भनें । त्यतिञ्जेलसम्म दुईटा विकल्प सोच्या छु पनि भन्या छु है मैले । दुईटा विकल्पबारे तपाईंसँग छलफल गर्ने मैले राति सोचेर बस्या छु, ती दुईटा विकल्प म तपाईलाई भन्छु । ती दुईटा विकल्पभित्र कहिँ कुरा मिल्ने देखियो भने फेरि गृहकार्यका लागि एक/दुई दिन बैठक रोकेर फेरि गरौंला पनि भन्या छु मैले । त्यो कुरा कमरेड जनार्दन र शंकरलाई पनि थाहा छ । त्यो कुरा हुन्छ भन्नुभयो उहाँले । फेरि, ठीक छ, तपाईं राम्ररी आउनुस्, कुरा गर्ने भन्नुभयो । म ढुक्कसँग अबचाहिँ भेट नभई केही पनि गर्ने हुनुभएन भन्ने पर्‍यो ।

तर, एक छिनपछि त उहाँले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएको भन्ने खबर आयो । आकस्मिक बैठक बोलाएको केका लागि होला, त्यही पो हो कि भन्ने भयो । किनभने, उहाँलाई के सूचना गएछ भन्ने मैले थाहा पाएँ । १० बजे हामीले अविश्वासको प्रस्ताव दर्ता गर्दैछौं नम्बर एक । साथसाथै राष्ट्रपतिलाई महाअभियोग लगाउने पनि सम्भावना छ भन्ने कसैले उहाँमा हालिदियो वा उहाँले त्यो कथा बनाउनुभयो, मलाई अहिले ठ्याकै यही भन्ने थाहा छैन । म ११ बजे आउँछु भन्नुको अर्थ उहाँले बुझ्नुभएछ- १० बजे गएर प्रस्ताव व दर्ता गर्ने र ११ बजे आउँछु भनेको बुझ्नुभएछ र हत्त न पत्त मन्त्रिपरिषद बोलाउनुभएछ ।

अनि मैले पनि तपाईंले मन्त्रिपरिषद बोलाइहाल्नुभएछ, त्यसो भए मन्त्रिपरिषद अगाडि नै भेटौं, म हिडिहालेँ, तपाईं मसँग कुरा नगरी मन्त्रिपरिषद बैठकमा नजानुहोला है, यति अनुरोध मान्नुहोस् भनें । हुन्छ भन्नुभयो । हुन्न भनेको भए पनि एउटा कुरो, हुन्छ भनेपछि म तुरुन्तै गाडी निकालेर दौडिएँ । उहाँले ९ः४५ मा मन्त्रिपरिषद बोलाउनुभएको थियो, म ९ः५० मा पुग्या थिएँ । उहाँ त राइट टाइममा मन्त्रिपरिषद गइहाल्नुभएछ ।

त्यहाँ सुवास नेम्वाङ र शंकर पोखरेल हुनुहुँदोरहेछ माथि कोठामा । म त्यहाँ गएँ । राजेश पनि त्यहीँ । खोइ त प्रधानमन्त्री ? छलफल गर्ने भनेको त, भनेँ । उहाँ सचिवालयतिर जानुभएको छ, पाँच मिनेटमा आउँछु भनेर जानुभा’छ राजेशको जवाफ त्यो थियो । बस्नु न च्या खाँदै गर्ने भन्ने छ … । विघटन त पाँचै मिनेटमा हुन सक्छ । त्यो तयार नै छ क्यारे, यसो विघटन भन्दिने कुरा मात्रै हो, प्रस्ताव गर्ने कुरा न हो । भनिदिने न हो भन्ने भयो ।

मैले सुवासजीलाई कुरो के हो ? मैले भेट्छु भन्दाभन्दै एकछिन, एकघण्टा कुरा गरेर गएको भए नि हुन्नथ्यो नि भनंे । सुवासजीले भन्नुभयो- त्यो अध्यादेश फिर्ता लिन जाँदैछु म एकछिनमा आउछु भन्नुभा’छ । अध्यादेश पो फिर्ता लिन जानुभएको, कहाँ संसद विघटन त हुँदैन भन्नुभयो उहाँले । अलि राहत मिल्यो मलाई । ए त्यसो भए त ठिकै छ भनेर चिया खाने भनेर ब्ल्याक टी मा मसला पनि हालेर खाइयो, मजाले बसियो । एक छिनपछि त मन्त्रिपरिषदबाट म्यासेज आयो, एउटा संसद विघटनको सिफारिस भयो भनेर । त्यसपछि चिया खान पनि मन लागेन ।

बसिराख्या थिएँ, उहाँ (ओली) आउनुभयो । केही बोल्ने कुरा पनि अभाव जस्तो भयो क्या ! प्रस्ताव त गरि नै सक्नुभयो उहाँले । मैले गरि नै हाल्नुभएछ क्यारे, अहिले त यत्तिकै गर्ने कुरा के भयो र भनेँ । उहाँले हैन, अब त चुनावमा जानुको विकल्प छैन भन्नुभयो । मैले केको चुनाव ? तपाईंलाई चुनाव ? भनेँ ।

योखालको छलछाम क्या ! लास्टमा कि त भनिदिए हुन्थ्यो नि, अब तपाईंसँग भेट्नुको अर्थ छैन भनिदिए पनि त हुन्थ्यो नि । आउनुस् भनेर दुईटा टाइम फिक्स गर्ने । अनि नभेटी, छलफल नगरिकन गर्ने ।

उहाँ आएपछि अब तपाई १०/१५ मिनेट बस्नुस्, म राष्ट्रपतिकहाँ गएर आउँछु भन्नुभयो । राष्ट्रपतिकहाँ गएर तपाईले स्वीकृत गराउने त होला, किन बस्नु म भनेँ । त्यो सुवासजी, अरुले पनि सुन्नुभएको छ । उहाँले के भन्नुभयो भने राष्ट्रपतिलाई स्वीकृत नगरिहाल्नुस् भनेर आउँछु । म लाटो भन्ने कि ? हो कि क्या हो, राष्ट्रपतिलाई स्वीकृत नगर भनेर सल्लाह गर्न खोजेको हो कि भनेको जस्तो लाग्ने ! अनि मैले तपाई राष्ट्रपतिकहाँ जाने-आउने गर्दा ढिला हुन्छ, म खाना खाएर आउँछु १२ बजेतिर भनेँ । तर, त्यहाँ बस्दाबस्दै स्वीकृत भएको खबर आइहाल्यो । यस किसिमको जालझेल र छलछामको तरिका अपनाइयो ।

(प्रतिनिधिसभा) विघटन भइसकेपछि हामीले केही अधिवक्ताहरुसँग पनि भेट्यौं, राय सल्लाह दियौं । देशको कुनै पनि संविधानविदले यो संविधानअनुकुल छ भनेको छैन । यो असंवैधानिक छ नै भनेका छन् । पूर्वप्रधानन्यायाधीशहरुको लामो लिस्ट नै छ, यसले यो असंवैधानिक छ, अलोकतान्त्रिक छ भनेका छन् । वामपन्थीखालका कानूनविदहरुले त यो हुनै नहुने, संविधानले परिकल्पना नै गरेको छैन, पहिला त संविधानमा विघटनलाई प्रधानमन्त्रीको विशेषाधिकारको रुपमा थियो । र, पनि मिल्यो मिलेन ? राजनीतिकरुपमा फाइदा भयो भएन भने बहस हुने गथ्र्यो । अहिले त संविधान बनाउनेबेला नै हामीले प्रधानमन्त्रीलाई विशेषाधिकार दिँदा जहिले पनि राजनीतिक अस्थिरता भइराख्ने भयो, प्रधानमन्त्रीलाई झोक चल्यो भने स्वाट्ट विघटन, नयाँ जनादेश भन्यो । देशमा जहिले पनि राजनीतिक भूमरि भइरहाख्ने भयो भनेर घन्टौं छलफलपछि यो हटाइएको हो । त्यसकारण संसद भंग भएको छैन भनेका छन् ।

सुन्नुस्, है कमरेडहरु । भंग भएको केपीको सरकार हो । संविधानतः अस्ति विघटनको सिफारिस भएपछि केपी सरकार भंग भयो, बैधानिक ढंगले संसद भंग भएको छैन । किनकि यसरी संसद भंगको परिकल्पना नै गरेको छैन संविधानले । एउटा परिस्थितिमा मात्र संसदभित्र पहिलो, दोस्रो, तेस्रो, चौथोमा पुग्दा पनि सरकार दिन सकेन भने संसद विघटन हुनसक्ने व्यवस्था छ । यहाँ त बकाइदा संसदमा अर्को सरकारमा बनाउने पूरै सम्भावना छ । त्यतातिर नगई संसद भंग गर्ने अधिकार प्रधानमन्त्रीलाई संविधानले दिएको छैन । सबैले यही भनेका छन् । निहित राजनीतिक स्वार्थ भएकाहरुले ठीकै छ, जेजे भए पनि भाँडमा जाओस् भन्नेलाई के भन्नु र । तर, जिम्मेवारीपूर्वक भन्नेहरुले यो असंवैधानिक छ, अलोकतान्त्रिक छ भनेका छन् । त्यसकारण हामीले के ठान्नुपर्‍यो भने संविधानतः संसद जीवित छ । मैले हिजो माननीयज्यूहरुलाई पनि के भनेको छु भने हामी मर्‍यौं भन्ने ठान्नुभएन । मरेकै छैनौं । मर्‍यौं भन्ने ठान्यौं भने बर्बाद हुन्छ । हामी मरेका छैनौं, हामी जीवित छौं ।

हामी अदालतमा जानुपर्छ, प्रक्रियामा त जानुपर्‍यो । हामी बहुसंख्यक माननीयज्यूहरुले अदालतलाई भन्छौं, सरकार गठनको सम्भावना छ, विघटन भएको सरकार हो, संसद होइन श्रीमान । हामी यति छौं, संसद विघटन भएकै छैन भन्ने मान्यता राख्छौं । कानूनविदहरुले पनि बेठीक भयो भनेका छन् । मिल्दै नमिल्ने काम गर्न पाइन्छ भनेर जानुपर्‍यो । आज हामीले रिट हालेका पनि छौं ।

हिजो हामीले कांग्रेस र जसपासँग छलफल पनि गर्‍यौं । हामीले कानूनी मोर्चामा पनि, राजनीतिक मोर्चामा पनि मिलेर जानुपर्छ भन्नेमा हाम्रो सहमति भएको छ । आज हामी पनि केन्द्रीय कमिटी बैठकमा, कांग्रेस पनि केन्द्रीय कार्यसमिति बैठकमा, जसपा पनि बैठकमा छ । र, बैठकहरुबाट आइसकेपछि साझा कार्यक्रम बनाउने भनेर उठेका छौं हिजो । हामी लिडिङ पार्टी हौं, त्यसकरण हामीले संसद विघटन बैध छैन, अवैध छ, संविधान अनुकुल छैन, असंवैधानिक छ, लोकतन्त्र अनुकुल छैन, अलोकतान्त्रिक छ भनेर कानूनी उपचार र सडकमा पनि दृढताका साथ जानुपर्छ ।

संसद भंग भयो, ६ महिनापछि चुनाव हुन्न भन्ने जस्तो गर्न खोजिएको छ, त्यस्तो होइन । यसका पछाडि सम्पूर्ण राजनीतिक कोर्ष बदल्ने षड्यन्त्र अन्तरनिहीत भएको देखिएकै छ । सम्पूर्ण चिज प्रतिगमनतिर लैजाने षड्यन्त्र अन्तरनिहीत छ । यति जालझेल, अपारदर्शी छ भने केपीले मूर्ख भएर मात्र गरे भनेर चुनाव हुन्छ होला भनेको ठान्नु ठूलो गल्ती हुन्छ ।

हामीलाई अझै पनि अदालतप्रति भरोसा छ । अदालतले पक्कै पनि संविधानका प्रावधानहरुको गहिरो अध्ययन गरेको छ र गर्नेछ । जनभावना र राजनीतिक दलहरुको भावना के छ भन्ने पनि हेर्नेछ र यो असंवैधानिक, अलोकतान्त्रिक निर्णयलाई समर्थन गर्ने छैन । देशको स्थिरताको पक्षमा निर्णय गर्नेछ भन्ने हाम्रो विश्वास छ ।

संसद भंग गर्न सिफारिस गरेर गल्ती गरेँ, गुटमात्र चलाउनेतिर गएँ, म पश्चाताप गर्न चाहन्छु भनेर आउनुभयो भने हामी छलफल गर्न तयार छौं
तर, फेरि यदि सडकमा हामीले जनतालाई राम्रोसँग प्रशिक्षित, परिचालित र आन्दोलन गर्न सकेनौं र भइहाल्छ भन्ने सोचियो भने देश दुर्घटना त गएकै छ, अझ ठूलो दुर्घटनामा जाने खतरा छ । अकल्पनीय क्षति व्यहोर्नुपर्ने, अझ कयौं वर्ष लड्नुपर्ने खतरा पनि छ कमरेडहरु । त्यसो भएर हामीले जनतामा जाने, जनपरिचालन गर्ने, सडकमा जोडतोडले लाग्न त्यतिकै आवश्यक छ । हामीले अहिले पनि जनवर्गीय संगठन र पार्टीलाई आ-आफ्नो ठाउँमा जे-जे सकिन्छ, गर्दै रहने त भनेका छौं । तर, यो केन्द्रीय कमिटीको बैठकबाट ठोस कार्यक्रम बनाएर जानुपर्ने हुन्छ । त्यो कार्यक्रम अनुसार तलबाट सशक्त दबाव सिर्जना गरिएन भने माथिबाट मात्र हुन्छ भन्नेर सोच्ने स्थिति छैन ।

कमरेडहरु, हामी यो बैठक आजै सक्दै छैनौं । भोलि हामी फेरि संसदीय दल बस्दैछौं । पर्सि केन्द्रीय समितिको अर्को बैठकमा अर्को प्रस्ताव पनि वितरण गरिन्छ, के भएको हो भन्नेबारेमा । त्यो पनि गर्ने र कार्यक्रमको सेट पनि बनाउनुपर्छ । धेरै लामो बैठक मात्र गरेर पनि हुँदैन । आवश्यक छलफल गरेर विचार, राजनीति, संगठन, अहिलेको परिस्थितिबारे हामी सबै स्पष्ट भएर दौडिनुछ । मलाई विश्वास छ, हामी यति गर्न सक्छौं ।

हुन त केपीजीलाई लाग्यो होला, सबै पन्छायौं । अब उहाँले ११९९ को महाधिवेशन आयोजक समिति बनाउनुभएको छ, त्यही ध्वाँस लगाउने होला । हामी ११०० तिर जानेवाला छैनौं, यही ३१५ ठीक छ । एकीकृत पार्टीको केन्द्रीय समितिका ४४१ को खाली ठाउँमा केही थपौंला, विचार गरौंला । संख्या, नेतृत्व, विचार, विधि सबै हिसावले यो पार्टी हो, त्यो गुट हो । त्यो षड्यन्त्रकारी नेतृत्वअन्तरगत भयो भन्ने आरोप हाम्रो छ ।

तर, यति हुँदाहुँदै पनि हामीले भनेका थियौं, १९ पेजको जस्तावेजको लास्टतिर हेर्नुभयो भने केपी ओलीलाई गम्भीर आत्मसमीक्षा, आत्मालोचना र केही त्याग गर्नुस् पार्टी एकताका लागि । यदि केपी ओली कमरेड अझै पनि मैले गल्ती गरे, देशप्रति घात भयो, लोकतन्त्रप्रति घात भयो, संविधानप्रति घात भयो, मैले साथीहरुको भावनामा घात गरेँ ………….। राष्ट्र, जनता, पार्टी, आन्दोलनप्रति मेरो कदमले घात भयो भनेर स्वीकार गरेर आउनुभयो भने उहाँलाई यथोचितरुपले राख्न तयार हुन्छौं । यस्ता मान्छे हौं हामी ।

आत्मसमीक्षा गर्दा संसद भंग गर्न सिफारिस गरेर गल्ती गरेँ, पार्टीका साथीहरुको भावनालाई मैले बुझ्न सकिनँ, गुटमात्र चलाउनेतिर गएँ, म पश्चाताप गर्न चाहन्छु भनेर आउनुभयो भने उहाँलाई स्वागत गर्न तयार हुने मान्छे हौं हामी । तर, उहाँ आउनुहुन्न है फेरि । मैले बुझेको उहाँ आउनुहुन्छ जस्तो त लााग्दैन, अझ परपर भाग्ने मान्छे हो । तर, आत्मसमीक्षा गर्न तयार छु भनेर आउनु भए हामी छलफल गर्न तयार छौं ।

मलाई त उहाँ (ओली) ले असाध्यै षड्यन्त्रकारी भन्नुहुन्छ, धोकेबाज भन्नुहुन्छ । गिरिजालाई धोका दियो, माधव नेपाललाई धोका दियो, उसलाई धोका दियो, भनेर लेख्नुभएको छ । मैले के भनेको थिएँ भने त्यसको जवाफ दिने बेलामा धोकेबाज जिन्दाबाद भन्नुस् । म धोकेबाज नभएको भए तपाई प्रधानमन्त्री नै हुनुहुन्थेन नि । कांग्रेसलाई धोका दिएको भन्न मिल्छ त अहिले ? यो नैतिकता हो त ? भनेको थिएँ ।

(नेकपाको प्रचण्ड-माधव समूहको केन्द्रीय कमिटी बैठकलाई गरेको सम्बोधनको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या निरन्तर घटदै

१ सय ५९ जना सकृय संक्रमित कपिलवस्तु ५ असारकपिलवसतुमा सकृय कोरोना सक्रमितको सख्या निरनतर घटदै गएको छ । स्वास्थ्य कार्यालय अनुसार शनिवार...

दोस्रो लहरमा रुपन्देहीमा ३१९ संक्रमितको मृत्यु, ।।

३० देखि ४९ वर्ष समूहका मात्रै २९ प्रतिशत ।।असार ५, भैरहवा–रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट हाल सम्म ४७६ जना कोरोना संक्रमितको मृत्यु भएको...

नेविसंघ र तरुण दल विपन्नको सहयोगमा जुट्दै ।।

५ असार कपिलवस्तु ।विपद् होस या अन्य समस्या समुदायमा देखिन साथ नेविसंघ र नेपाल तरुण दलका प्रतिनिधि समुदायमा पुने गर्दछन् ।विश्वभर...

प्रांगारिक खेती प्रर्बद्धन गर्न वाणगंगा २ का महिला कृषक समूहलाई उपकरण हस्तान्तरण ।।

पार्बती आचार्य कपिलवस्तु, ५ असार ।बाणगंगा नगरपालिका वडा नं. २ गोबडीहवास्थित ज्योती महिला कृषक समूहमा सञ्चालन भैरहेको...

Recent Comments