पुष १२ बुटवल ।
नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भूषालले सर्वोच्च अदालतले संसद पुर्नस्थापना नगरे आन्दोलनबाटै हुने दाबी गरेका छन् । संविधानविपरित प्रतिनिधिसभा विघटन गरिएकाले त्यसलाई सर्वोच्च अदालतले पुनःस्थापना गर्ने उनको विश्वास छ ।
नेकपा रुपन्देहीले आइतबार तिलोत्तमामा आयोजना गरेको भेलामा बोल्दै भूषालले यदि अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरे देशभर आन्दोलन हुने र त्यही आन्दोलनले प्रतिनिधिसभा पुनःस्थापना हुने उल्लेख गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरित कदम चालेर पार्टीको विधि र पद्धति समेत उल्लंघन गरेको बताए । पार्टीले सरकार संचालनमा कुनै अवरोध नगरेको जिकिर गर्दै उनले प्रधानमन्त्री ओलीले घेराबन्दी गरियो भन्ने भ्रम सृजना गरेको बताए । उनले गैरसंवैधानिक कदम चालेको भन्दै प्रधानमन्त्री ओलीको भूसालले चर्को आलोचना गरे । एमसीसी परियोजनालाई संसोधनसहित पास गर्नेबारे विवाद रहे पनि अन्य कुनै पनि विवाद पार्टीमा नभएको उनको भनाइ छ ।