१९ पुस, काठमाडौं ।
प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरेको हो ।
केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार पुस २५ गते देशभरका ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्नेछ । त्यसपछि माघ ३ गते ७५३ वटै स्थानीय तहमा र माघ ८ गते ६७४३ वटै वडामा प्रदर्शनको कार्यक्रम तय भएको उनले बताए । प्रतिनिधिसभा विघटनको विरोधमा उत्रिन कांग्रेसले कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।कांग्रेसले पार्टीका जिल्ला समितिले आफ्नो अनुकुलतामा तथा पार्टीका भातृ तथा शुभेच्छुक संगठनहरुले आ–आफ्नो आवश्यकता र अनुकुलतामा जिल्ला समितिसँग समन्वय गरेर कार्यक्रम गर्ने पनि निर्णय गरेको छ ।
त्यसैगरी बैठकले २०७५ कार्तिक २० गते उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गर्नेहरुको समायोजनको निम्ति बनाइएको समायोजन समितिले तयार पारेको प्रतिवेदन बैठकले अनुमोदन गरेको छ ।बैठकले क्रियाशील सदस्यता विवरण २०७७ माघ मशान्तसम्म गरिसक्ने मिति तय पनि गरेको प्रवक्ता शर्माले बताए ।