काठमाडौं :
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (आइतबार) देखि सुरु हुने प्रतिनिधिसभाका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिएका छन्।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठकमा ओलीले संसदमा ध्यान केन्द्रित गर्न निर्देशन दिएका हुन्। संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले संसदमा ध्यान केन्द्रित गर्न सांसदहरूलाई निर्देशन दिएको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए।
शनिबारको बैठकमा १ सय १५ जना सांसद उपस्थित भएको भट्टराईले दाबी गरे। बैठकमा २४ जना राष्ट्रियसभा सदस्य र ९१ जना प्रतिनिधिसभा सदस्य उपस्थित भएको उनले बताए।
ओली समूहले बैठकमा सहभागी हुन वामदेव गौतमलाई निम्तो दिइएको भए पनि उनी बैठकमा सहभागी भएनन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि पहिलो प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न ४ बजे बस्दैछ। गत पुस ५ गते संसद विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ।