नेपालगञ्ज २४ फागुन ।
लुम्बिनी प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले विपन्न समुदायको सारथीको रुपमा सहकारी अभियान अगाडी बढ्नुपर्ने बताउनुभयो । मन्त्री पौडेलले लुम्बिनी प्रदेश अन्य ६ प्रदेशका निम्ति पनि उदाहरणिय बनेको चर्चा गर्दै थप नमुनायोग्य कामको लागि सहकार्य गर्न प्रदेश सरकार तयार रहेको जिकिर गर्नुभयो । मन्त्री पौडेलले सहकारी अभियान प्रति आफ्नो विशेष चासो रहेको चर्चा गर्दै सहकारी अभियान गरिब, दुःखी तथा विपन्नका बीचमा पुग्नुपर्ने धारणा राख्नुभयो ।
सहकारीहरुको छाता संगठन प्रदेश सहकारी संघ लुम्बिनी र प्रदेश बचत तथा ऋण सहकारी संघ, लुम्बिनीको प्रारम्भिक साधारण सभाको आइतबार नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो धारणा राख्नु भएको हो । मन्त्री पौडेलले सहकारीका माध्यमबाट समाजलाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपले नै रुपान्तरण गर्नु पर्नेमा जोड दिंदै सहकारीका माध्यमबाट सदस्यको जीवनमा सकारात्मक परिवर्तनको अनुभुती हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै सहकारी संघका केन्द्रीय अध्यक्ष मिन प्रसाद कडेलले नेपालको सहकारी अभियानबाट विश्व सहकारी अभियानमा प्रभाव देखा परेको चर्चा गर्नुभयो । केन्द्रीय अध्यक्ष कंडेलले सदस्यका सबै खाले समस्याको समाधानका निम्ति भरोसायोग्य केन्द्र बन्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सहकारी अभियानमा देखा परेका चुनौतीहरुलाई सहकारी बीचको एकताका माध्यमबाट सफलता प्राप्त गर्न सकिने जिकिर गर्नु भयो । उद्घाटन समारोह प्रदेश सहकारी संघ लुम्बिनीका अध्यक्ष प्रेम सुवेदीको अध्यक्षता र प्रदेश बचत तथा ऋण सहकारी संघ, लुम्बिनीका अध्यक्ष कृष्ण नेपालको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रदेश सहकारी संघमा सुवेदी निर्वाचित
सहकारीहरुको छाता संगठन प्रदेश सहकारी संघ लुम्बिनी र प्रदेश बचत तथा ऋण सहकारी संघ, लुम्बिनीको प्रारम्भिक साधारण सभाबाट आगामी ४ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । नेपालगञ्जमा आइतबार सम्पन्न प्रारम्भिक साधारण सभाबाट नयाँ नेतृत्व चयन भएको हो । प्रेम प्रसाद सुवेदीको नेतृत्वमा १३ सदस्यीय प्रदेश सहकारी संघ लुम्बिनीको नेतृत्व चयन भएको हो ।
संघको उपाध्यक्षमा विष्णु प्रसाद पौडेल, महिला उपाध्यक्षमा एकता शाह, सचिवमा रुप बहादुर खत्री, कोषाध्यक्षमा कृष्ण बहादुर जि.सी. चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा टिका न्यौपाने, प्रकाश भट्टराई, प्रकाश भुसाल, जिवलाल न्यौपाने, गिता के.सी जि.एम., यम बहादुर थापा, नवराज न्यौपाने र पदमा आचार्य रहनु भएको प्रदेश संघले जनाएको छ । त्यस्तै संघको लेखा सुपरिवेक्षण समिति संयोजक तेजप्रसाद आचार्य र सदस्यमा श्याम कुमार पाण्डेय निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ ।
लुम्बिनी बचत संघमा नेपाल निर्वाचित
प्रदेश बचत तथा ऋण सहकारी संघ, लुम्बिनीको प्रारम्भिक साधारण सभाबाट कृष्ण नेपालको नेतृत्वमा १९ सदस्यीय संचालक समिति आगामी ४ वर्षका लागि चयन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा प्रकाश ज्ञवाली, महिला उपाध्मा मिना सिंदेल, महासचिवमा ऋषिराम सापकोटा, कोषाध्यक्ष प्रेम गुरुङ्ग, सचिवमा बसन्त ढकाल रहनु चयन हुनुभएको छ ।
सदस्यहरुमा सूर्य कुमारी शाही, लक्ष्मण बेल्बासे, भरत भुसाल, ज्ञानु पौडेल, फुल कुमारी गिरी, राजन आचार्य, निर्मला अधिकारी, श्याम कुमार पाण्डे, राजेश श्रेष्ठ, उदय बहादुर खत्री, हुमा डिसी, भगवती बस्याल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै बचत संघको लेखा संयोजकमा कृष्ण चौवान र सदस्यमा दुर्गा सापकोटा सर्वसम्मत चयन हुनुभएको संघले जनाएको छ ।