ओम प्रकाश पौडेल । कपिलवस्तु । २७ फागुन ।
वाणगंगा मावि वाणगंगा ४ गजेहडा कपिलवस्तुको परिसरमा शिलन्यास गरिए संगै बहुद्देश्यिय कभर्ड हलको निर्माण सुरु भएको छ । ठाकूरापूर टोल विकास संस्था र नवप्रभात युवा क्लबको आयोजनामा शिलन्यास कार्यक्रम आज विहिवार सम्पन्न गरि निर्माण सुरु गरिएको हो ।
सांसद क्षेत्र विकास कोष कपिलवस्तु क्षेत्र नम्बर १ कपिलवस्तुको आर्थिक सहयोगमा बहुद्देश्यि कर्भड हलको निर्माण सुरु भएको हो । कर्भड हल शिलन्यास गर्दै प्रतिनिधी सभा सदस्य एवं पूर्व मन्त्रि चक्रपाणी खनाल बलदेवले आफू मन्त्री हुँदा ताका कपिलवस्तुको विकासका लागि अरबौँ बजेट छुट्याएको भए पनि जिल्लाको दक्षिणी क्षेत्रका जनता समाजबादी पार्टी लगायतले कम्युनिष्टले गर्न थालेको विकास नरोकेमा उनीहरु हावी हुन्छन् भन्ने गलत सोँचाईका साथ विकासमा अवरोध गर्दा करोड बढि रकम फ्रिज हुन पुगेको आरोप लगाउनुभयो ।
पाँच अरब बजेटका विभिन्न ३ वटा ठूला कृषि सम्बन्धि योजना सुरु गर्न खोजेकोमा जग्गा नपाएर रोकिएको तर हथौसा मेला स्थलको कृषि उपज संकलन केन्द्रको मात्रै निर्माण सूरु भएको बताउनुभयो । राजपानी पूर्वको जंगल एरियामा कृषि अनुसन्धान केन्द्र र कोइली बनगाई निरको खोला किनारमा पशु हाट बजार स्थापना गर्ने कार्यक्रम आफूले जिल्लामा ल्याउन खोजेको भए पनि जग्गा नपाएका कारण रोकिएको खनालको दावी छ ।
सांसद खनालले कभर्डहलका लागि आफूले अहिले उपलब्ध गराएको रकम अपुग हुने र अपुग रकम आफूले संसद रहे सम्म निरन्तर उपलब्ध गराई निर्माण सम्पन्न गर्न सघाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
शिलन्यास कार्यक्रम वाणगंगा ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्रीको अध्यक्षता, सांसद चक्रपाणी खनालको प्रमुख अतिथ्यता, प्रदेश सांसद विष्णु पन्थी र संविधान सभा सदस्य डोर प्रसाद उपाध्यायको विशिष्ट आतिथ्यता, उपमेयर चक्रपाणी अर्याल, वडा सदस्य इन्दिरा पन्त, वाणगंगा माविका प्रधानध्यापक राम प्रसाद भण्डारी, ठाकूरापूर टोलविकास संस्थाका अध्यक्ष हरि पौडेल लगायतको आतिथ्यता र नव प्रभाव युवा क्लबका अध्यक्ष मिलन चालिसेको स्वागतमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ । निर्माण सुरु भएको कभर्डहलमा व्याडमिन्टन, बास्केटबल, भलिवल लगायतका खेल खेल्न मिल्ने र कार्यक्रमहरु सञ्चालन गर्न मिल्ने बताइएको छ ।